Image description

भदौ १२, सुर्खेत । कर्णाली प्रदेशकाे नौ जिल्ला पहिरो र सुर्खेतकाे वीरेन्द्रनगर बाढीको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जोखिम रहेका क्षेत्रमा सोही अनुसारको प्रतिकार्य योजना बनाउन यसअघि नै सुझाव दिइसकेको छ ।

प्रधिकरणले विसं २०७१ को साउनको अन्तिममा आएको बाढी र डुबानबाट सुर्खेतभर एक सय १५ जनाको ज्यान गएको जननएको छ, भने छ सय ७५ घर क्षति हुँदा रु ११ अर्बको सम्पत्ति नष्ट भएको सरकारी तथ्याङ्क मार्फत जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले भने तल्लो क्षेत्रमा हुने डुबान समस्याको दिगो समाधानका लागि रणनीतिक योजना निर्माण गरिएको दाबी गरेको छ ।

यस क्षेत्रमा भइरहने डुवानको समस्या समाधानका लागि नगरपालिकाको नीति कार्यक्रममै समावेश गरी काम थालिएको नगर उपप्रमुख नीलकण्ठ खनालको दाबी छ ।

“इत्राम, खोर्के, नेवारेलगायतका खोलाको निकासलाई फराकिलो गर्ने एउटा योजना छ भने यसको समाधान हामी एक्लैले गर्न नसकिने भएकाले प्रदेश सरकारलाई अनुरोध काम अगाडि बढाउने तयारीमा छाैँ ”, उहाँले भन्नुभयाे ।
बर्सेनि डुबान हुने डुवानको समस्यालाई मध्यनजर गर्दै तटबन्ध निर्माणसँगै अन्य रणनीतिक योजना निर्माण गरी काम भइरहेको उपप्रमुख खनालको भनाइ छ ।

“विपद्सँग काम गर्ने तयार नेपाल संस्था पनि हामीसँग जोडिएको छ, उक्त संस्थाले यहाँको अध्ययन र नक्शाकङ्न गरिरहेको छ, त्यसपछि अझै व्यवस्थित ढङ्गले दिगो समाधान हुनेगरी काम गर्छौ ,” खनालले भन्नुभयाे । 

मध्यपश्चिम विश्वविद्यालयमा वन वातावरण र विपद् व्यवस्थापन अध्यापन गराइरहेका उप–प्रध्यापक खगेन्द्र रावलले अहिले वीरेन्द्रनगरमा जथाभावी बस्ती बसाइएको भन्दै खोलालाई नालाका रुपमा रुपान्तरण गर्दै लैजाँदा डुवान र बाढीको समस्या समाधान बढ्दै गएको बताउनुभयाे । 

रावलले भन्नुभयाे, “सुर्खेतको माथिल्लो क्षेत्रबाटै बस्ती व्यवस्थापन आवश्यक छ । इत्राम खोला, खोक्रे खोलालाई चेप्दै लिएर नालाजस्तो बनाइएको छ । यसकारण बाढी र डुवानको समस्या झनै निम्तिदै गएको हो ।”

केही दिन अगाडिको लगातार वर्षाले त्यस क्षेत्रमा डुवान सुरु भएपछि कर्णाली प्रदेशसभामा समेत यो विषयले चर्चा पाएको थियो । सांसदहरुले वीरेन्द्रनगरको दक्षिणी क्षेत्रमा भइरहने डुवानको दिगो समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।