Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ ।  

समाजवादी मोर्चाद्वारा वीरगञ्जमा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।”

प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको बताउँदै उहाँले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पार्नुभयो ।

विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उहाँले बताउनुभयो ।

यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गर्नुभयो ।

मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो ।  

मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले निजगढ–काठमाडौँ फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताउनुभयो ।

लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीनवटै ऐन पारित गराइ कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो ।

संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रुपमा संशोधन गर्न सरकार, सदन र सडक तीनवटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको उल्लेख गर्नुभयो ।

वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गर्नुभयो ।

वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्नुहुँदै उहाँले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिनुभयो ।     

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताउनुभयो ।

बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उहाँले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताउनुभयो ।

मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उहाँले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गर्नुभयो ।

मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्नुहुँदै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताउनुभयो ।

 नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताउँदै दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको दाबी गर्नुभयो ।