बेनी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् ।
चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् ।
अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहनुभएका स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली थलो म्याग्दीमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि होमिनु भएका पुनलाई उहाँको जन्मथलो अन्नपूर्ण गाउँपालिका-८ नागी, मालिका गाउँपालिका-५ पन्थोक, ४ च्युरीबोटलगायत ठाउँमा मतदाताले स्वस्फूत आर्थिक सहयोग गरेका छन् ।
“कतिपयले चुनाव जित्न मतदातालाई पैसा बाँडेको चर्चा हुने गरे पनि मलाई उल्टै मतदाताहरूले नै आर्थिक सहयोग गरिरहनुभएको छ”, चुनावी अभियानका क्रममा धवलागिरि गाउँपालिका-६ मराङमा पुगेका पुनले भन्नुभयो, “हालसम्म रु १५ लाख सहयोग पाएको छु । प्राप्त सहयोग रकमको हिसाब चुनावपछि सार्वजनिक गर्नेछु ।”
प्रतिक्रिया