तनहुँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा सोमवार आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभयो ।
उपसभापति शर्माले चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको बताउनुभयो । ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान उहाँले आग्रह गर्नुभयो ।
कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।”
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया