logo
सोमबार, ३० भाद्र २०८२

ओली बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ : प्रधानमन्त्री 

ओली बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ : प्रधानमन्त्री 

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो ।

“कतिपयलाई मेरो उमेरर मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन । केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ, भने त्यो पूरा हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभइ विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण भएर आउने उद्घोष गर्नुभयो ।

अध्यक्ष ओलीले गणतन्त्रलाई नमूनाका रूपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलनलाई कमजोर हुन नसक्ने पुष्टि भइसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरूले आन्दोलनलाई पुनःगठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेलाई एक्काइशौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।” रासस

ताजा अपडेट
TOP