काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हालै निस्कासनमा परेका नेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ ।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भन्नुभयो, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।”
नेकपा एमालेको सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्थ्यो ।
नेकपा एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । तर पछिल्लो समय उहाँ पार्टी भित्र कमजोर बन्नुभएको थियो ।
विसं २०३२ मा पार्टीको सदस्य लिएपछि देश, जनता, सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौती लगायतका विषयमा डा रावलले आज बुधवार पत्रकार सम्मेलनगरी जानकारी गराउनुभएको छ । रासस
प्रतिक्रिया