

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताउनुभयाे ।
नगरकोटको बतासे डाँडामा साेमबार आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया