logo
शनिबार, २८ भाद्र २०८२

महिला परिवारको हिस्सा मात्रै नभइ सम्पूर्ण समाजको प्रगतिको आधार हुन् : पूर्वराष्ट्रपति भण्डारी

महिला परिवारको हिस्सा मात्रै नभइ सम्पूर्ण समाजको प्रगतिको आधार हुन् :  पूर्वराष्ट्रपति भण्डारी

पर्सा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग-व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको बताउनुभयो ।

महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाजको प्रगतिको आधार भएकाले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने उहाँकाे भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा उद्यमशीलताको विकास गर्न महिला नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महिला आत्मविश्वासी भएर सकारात्मक सोत र योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिला आत्मनिभएर भए मात्रै क्षमता अभिवृद्धिसँगै नेतृत्वमा जानसक्ने धारणा राख्नुभयो ।

“समाजमा महिलाको योगदानलाई अपेक्षित गरिँदै आइएको छ । त्यसैले हामीले महिला नेतृत्व गर्न, उद्यम गर्न र समाज रुपान्तरण गर्न पूर्णरूपमा सक्षम छन् भनेर प्रचारप्रसार गर्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महिलाको त्याग र समर्पणलाई सस्थागत गरेर अवसरहरू सिर्जना गरे मात्रै महिलामाथि सम्मान हुने धारणा राख्नुभयो । मुलुकको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

 

ताजा अपडेट
TOP