logo
सोमबार, ३० भाद्र २०८२

‘युवा नेतृत्वमा संसारलाई परिवर्तन गर्नसक्ने क्षमता हुन्छ’

‘युवा नेतृत्वमा संसारलाई परिवर्तन गर्नसक्ने क्षमता  हुन्छ’

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताउनुभयाे ।
अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले साेमबार आयोजना गरेको कार्यक्रममा उहाँले समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता छ भन्नुभयो ।
सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । युवामा नेपाल सरकारका सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्नेलगायतका नीति मन्त्रालयले बनाइरहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “राष्ट्रिय युवा नीति छलफलको क्रममा छ, संसद्को समितिमा पुगेको छ, १८ देखि ३५ वर्षसम्मका लागि युवा मान्ने नीति बन्दै छ । हामी चाँडोभन्दा चाँडो सूचना प्रविधिसँग जोडिएका ऐनहरू बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नूस्, आर्थिक समृद्धि हासिल गर्नूस् ।”
मन्त्री गुरुङले वर्तमान युगमा इन्टरनेटमा पहुँच पनि अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै प्रविधिको पहुँचमा रहेको असमानता हटाउन कुनै पनि घर, समुदायलाई छोड्न नहुने बताउनुभयो । प्रत्येक प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारीमा सरकार लागिपरेको उल्लेख गर्दै उहाँले सीप विकास गर्ने, नयाँनयाँ प्रविधिहरूको पहिचान गर्ने विषयलाई सरकारले ध्यान दिएको जानकारी दिनुभयो ।
प्रविधि र नवप्रवर्तनलाई ध्यानमा दिएर काम गर्न सकियो भने दिगो विकास लक्ष्य हासिल गर्दै समृद्धि हासिल गर्न धेरै राम्रो हुनसक्ने बताउँदै मन्त्री गुरुङले स्थानीय तहमा सोचेर संसारभर प्रभाव पार्नेगरी समृद्ध डिजिटल नेपालको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

ताजा अपडेट
TOP