logo
४ माघ २०८१, शुक्रबार

शीतलहरबाट तराईका जिल्लामा जनजीवन प्रभावित

शीतलहरबाट तराईका जिल्लामा जनजीवन प्रभावित

बाँके। पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो ।

बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताउनुभयो । उहाँले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गर्नुभयो । चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गर्नुभयो ।

ताजा अपडेट
TOP