

काठमाडौँ । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् ।
बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।
गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ ।
निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।
यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिनुभयो ।
अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिनुभयो ।यस्तै चलचित्र ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गर्नुभएको छ ।
शङ्कर घिमिरेले निर्देशन गर्नुभएको चलचित्रमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।
अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताउनुभयो ।
नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए ।
प्रतिक्रिया