

ललितपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजनामा शनिवार मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
डा. यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन ।”
लमनपा वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जली योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया