

काठमाडाैँ । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् ।
सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ ।
पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ ।
पोषणविद् डा मनषा थापा ठकुराठीले भन्नुभयो, “विभिन्न मसालाजस्तै अदुवा, लसुन, बेसार, मरिच, जुवानोले शरीर तातो राख्न मद्दत गर्छन् । पोषणविज्ञानले चिसो र तातो खाना छुट्याएको छ । कुन खाना खाँदा तातो प्रभाव दिन्छ, सोही खानेकुरा सेवन गर्नुपर्छ ।”
उहाँले जाडोमा कोदो तथा फापरको रोटी, गहतको दाल, जुवानोको झोल, चमसुरको साग, सौँफको सागलगायत परिकारले शरीर न्यानो राख्न सहयोग गर्ने बताउनुभयो ।
बजारमा पाइने विभिन्न तयारी अवस्थाका सुपका प्याकेटभन्दा घरमा ताजा तरकारीको सुप बनाएर खाँदा शरीरलाई फाइदा पुग्ने पोषणविद् विनिता पन्तले बताउनुभयो ।
पन्तका अनुसार जाडोमा पानी कम खाइने हुनाले अरु झोलिलो खानेकुराबाट पानीको मात्रा पूर्ति गर्नुपर्छ ।
“मनतातो पानी खाने बानी गर्नुपर्छ । कोदोको सुप एकदम पौष्टिक हुन्छ । सकेसम्म दैनिक एकछाक कोदो खाँदा उपयुक्त हुन्छ । यसमा क्याल्सियम र पोटासियमको मात्रा बढी हुन्छ । लसुन, अदुवा, बेसारले एन्टिबायोटिकका रूपमा काम गर्दछ । यसलाई खानेकुरामा प्रयोग गर्न सकिन्छ ।”
माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर, तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्न पोषणविद् ठकुराठीले बताउनुभयो ।
पोषणविद् पन्तले पनि तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पु¥याउने धारणा राख्नुभयो ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, दीर्घरोगीलाई चिसो लाग्ने सम्भावना बढी हुने भएकाले तातो खानेकुरामा बढी जोड दिनुपर्ने पोषणविद् डा ठकुराठीको भनाइ छ ।
खानेकुराले नभई व्यक्तिपिच्छे शरीरको प्रक्रिया फरक हुने भएकाले आफूलाई कस्ता खाना खाँदा सुहाउँदो हुन्छ त्यो विचार गरेर खानुपर्ने पोषणविद् डा ठकुराठीले बताउनुभयो । पोषणविन्द् पन्तले आफूले कति शारीरिक क्रियाकलाप गरिन्छ सोहीअनुसार खानेकुराको सेवन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया