logo
४ माघ २०८१, शुक्रबार

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।

काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई जलन उपचारसम्बन्धी तालिम प्रदान गर्न सक्ने बताउनुभयो । सुस्मा कोइराला अस्पतालले जलन उपचारको नेतृत्व गर्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सुरुको समयमा दुर्गम क्षेत्रमा अस्पताल खोल्नका लागि निकै समस्या झेल्नुपरेको बताउनुभयो । सुरुको बेलामा देशभर नै जलनको उपचार नहुँदा उक्त अस्पताल स्थापना गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा चन्द्र भण्डारीले आफ्नो जीवनको महत्वपूर्ण २७ वर्ष नेपालका लागि दिएकोमा स्टाललाई धन्यवाद दिनुभयो । उहाँले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले सबैभन्दा पुरानो जलन हस्पिटलको रूपमा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेको उल्लेख गर्दै जलनका बिरामी उपचारको लागि बाहिर जानुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीले अस्पताल निर्माणका क्रममा भोगेको समस्या र चुनौतीको उल्लेख गर्दै स्थानीय तथा कर्मचारीले गरेको साथ र सहयोगप्रति धन्यावाद दिनुभयो ।

जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रुपमा विस २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना गरिएको थियो । शुरुमा ८ जना डाक्टर तथा कर्मचारी भएको उक्त अस्पतालमा अहिले १ सय कर्मचारी कार्यरत रहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिनुभयो । रासस

TOP