

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई भनेका थिए ।
त्यसलगत्तै मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखेपछि समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले केही दिनअघि औषधिको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । रासस
प्रतिक्रिया