logo
४ माघ २०८१, शुक्रबार

स्वास्थ्य बिमालाई व्यवस्थित गराइन्छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बिमालाई व्यवस्थित गराइन्छ : स्वास्थ्यमन्त्री पौडेल

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै स्वास्थ्य पौडेलले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुभयो ।

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उहाँले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम पाँच लाख पु¥याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताउनुभयो ।

देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उहाँले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पु¥याउनु आवश्यक भएको बताउनुभयो ।

आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उहाँले स्पष्ट पार्नुभयो ।

पोखरामा वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

वृद्धाश्रमका उपाध्यक्ष एवम् जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य केशव लम्सालका अनुसार अनुसार वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिदै आउनुभएको छ ।

वृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौ विस्तारा, थेरापी मेसिन एवं औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पु¥याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

 

ताजा अपडेट
TOP