काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।
यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
खेलको ५६आँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याइन् ।
खेलको ८१आँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछिको खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो । रासस
प्रतिक्रिया