logo
बुधबार, २५ असार २०८२

गण्डकीमा प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम   

गण्डकीमा प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम   

पोखरा । गण्डकीका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ ।

पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिनुभयो ।

निर्देशक पौडेलका अनुसार जेहेन्दार, विपन्न एवम् सीमान्कृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएका छन् ।

उक्त कार्यक्रममा २ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रम सुरुको अवस्थामा प्रत्येक विद्यालयलाई ५ लाख रुपैयाँ र त्यसपछि प्रतिवर्ष २ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिँदै आएको निर्देशक पौडेलले बताउनुभयो ।

प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक-एक ‘स्टिमल्याब’ स्थापना गरी सो कार्यक्रम सञ्चालन गरिएका छन् ।

नवलपुर जिल्लाको देउचुली नगरपालिकास्थित भिमसेन आदर्श माविमा उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले नौमती बाजा एवम् मौरीपालन गरी आयआर्जन गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बास्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यसवर्ष १५० जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सीपसँग जोड्ने काम गरिरहेका छन् । विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र तरकारीखेती, हस्तकलाका सामग्री उत्पादन, पशुपालनलगायत गर्दै आएका छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागी गराइएको छ । रासस

TOP