logo
४ माघ २०८१, शुक्रबार

गढीमाई मेलामा करोड दर्शनार्थी पुग्ने

गढीमाई मेलामा करोड दर्शनार्थी पुग्ने

वीरगञ्ज । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने नेपाली र भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ ।

मेलामा नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् । नेपालका साथै भारतका विभिन्न राज्यका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच-पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताउनुभयो ।

अध्यक्ष यादवका अनुसार विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ । महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरुको उपस्थिति हुने, जसमा स्वदेशी धार्मिक पर्यटक ४० प्रतिशत र भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताउनुभयो । कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई-रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्परा अनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । गढीमाईमा करिब १० हजारभन्दा राँगाको बलि दिइसकेको छ । सोमवार पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ । रासस

ताजा अपडेट
TOP