जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहिवार पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो ।
रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकी सम्बन्धी गीतसमेत गाएका छन् । मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ ।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गङ्गासागर पुगेका थिए । मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ । गङ्गासागरमा उत्तराधिकारी महन्तदासले माटो निकाल्नुभएको थियो ।
महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए । जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गङ्गासागर पुग्ने गर्छ । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।
जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र बिहिवार पाँचाँ दिन मटकोर कार्यक्रम भएको छ । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । रासस
प्रतिक्रिया