logo
७ माघ २०८१, सोमबार

रामजानकी विवाहमा अयोध्याबाट आएका जन्तीको स्वागत गरियो

रामजानकी विवाहमा अयोध्याबाट आएका जन्तीको स्वागत गरियो

जनकपुरधाम । रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज मंगलवार जनकपुरधाम आइपुगेको छ ।

करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर मंगलवार जनकपुरधाम प्रवेश गरेको हो । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गर्नुभयो ।

यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गर्नुभयो ।

महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो । जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको जन्तीलाई जानकी मन्दिरमा लगेर स्वागत गर्ने कार्यक्रम छ ।

विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथो पटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।

सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, भगवान् श्रीरामले कसैले हल्लाउन नसकेको शिव धनुष तीन टुक्रा पारेपछि माता सीतासँग विवाह निश्चित भएको थियो ।

सोमबार मटिहानीमा लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले मटिहानीमा जन्तीको स्वागत गर्नुभएको थियो ।

भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र आदि स्थान हुँदै सोमबार साँझ बेनीपट्टीबाट मधवापुर भएर महोत्तरीको मटिहानी आएका जन्ती मंगलवार जनकपुरधाम पुगेका छन् । रासस

ताजा अपडेट
TOP