logo
१० माघ २०८१, बिहीबार

पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

बुर्तिबाङ ।  ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ- भगवती टोल । टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन् ।

ढोरपाटन-१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’ । आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्नुहुन्छ । उमेरले हजुरआमा पुस्ताकी उहाँ आमा पुस्ताभन्दा कम हुनुहुन्न ।

यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो । त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् ।

स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् । पोषणयुक्त खाना खान्छन् । तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन् ।

मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गर्नुभएको छ ।

समूहका आमामध्ये ३५ जनाका स-साना बालबालिका छन् । हरेक महिना एक-दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन् ।

चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताउनुभयो । ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन् । आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ । रासस

TOP