logo
७ माघ २०८१, सोमबार

पञ्चैबाजा संरक्षणमा जुटेका महिला आय आर्जन पनि गर्दै

पञ्चैबाजा संरक्षणमा जुटेका महिला आय आर्जन पनि गर्दै

बागलुङ ।  परियार समुदायको पुर्ख्याैली पेसाका रुपमा रहेको पञ्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा विस्तारै पञ्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।

युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको बाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले बजारमै रहेका महिला समूहलेसमेत बाजा बजाउन थालेका छन् ।

बागलुङ नगरपालिका-३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले मौलिक संस्कृतिका रुपमा रहेको पञ्चैबाजा लोप हुन थालेपछि महिला नै यसको संरक्षणमा लागेको  बताउनुभयो । गाउँ तथा सहरमा विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ ।

थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता १०-१२ कक्षा पास गरेर विदेश गइहाल्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे भात खुवाइ र ब्रतबन्ध हुँदा बाजा बजाउनै छाडेको हुँदा महिला दिदीबहिनी मिलेर पञ्चेबाजा बजाउन थालेका हौँ ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पञ्चेबाजा समूहबाट सिकेका उनीहरुले एक लाख ५० हजार रुपैयाँमा  बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् ।

एउटा विवाहबाट ३० देखि ५० हजारसम्म लिने गरेको पञ्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको समयमा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूलाठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ । रासस

ताजा अपडेट
TOP