logo
१३ चैत्र २०८१, बुधबार

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको उपहार पाथीभरा

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको उपहार पाथीभरा

शीतलप्रसाद महतो

काठमाडौँ। हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् ।

धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा ।

पाथीभरामाधार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ ।

आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प्रत्येक हिन्दू धर्मावलम्बीको हुन्छ । हिन्दू मात्र होइन, यहाँ बौद्ध र किरात धर्म मान्नेले पनि उत्तिकै आस्थाका साथ पुग्ने गर्दछन् ।

धार्मिक एवं ऐतिहासिक रुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने यस मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाई पाथीभरा देवी भनिएको हो । आसपासमा हिमाल, बीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ ।

अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकाले यो देवीको नाम पाथीभरा देवी भनेर श्रद्धा एवं भक्तिपूर्वक पुज्ने गरिन्छ ।

ताप्लेजुङका किरात समुदायले पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनिन्छ । लिम्बू भाषामा ‘मुकुम’ को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुङ्गा भन्ने जनाउँदछ । रासस

ताजा अपडेट
TOP