logo
४ माघ २०८१, शुक्रबार

समस्याग्रस्त सहकारीका ६ हजार बढी बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारीका ६ हजार बढी बचतकर्ताको बचत फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।

यही कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको एक कार्यक्रममा जानकारी गराइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिनुभयो ।

ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो । मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको पनि मन्त्री अधिकारीले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको बताउनुहुँदै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौवटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताउनुभयो ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताउनुभयो । बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुहुँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताउनुभयो ।

समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो ।

बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्नुहुँदै उहाँले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी रोक्का गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP