logo
४ माघ २०८१, शुक्रबार

राहुघाट नदीमा पाँच जलविद्युत् आयोजना

राहुघाट नदीमा पाँच जलविद्युत् आयोजना

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ ।

“८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१।३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भन्नुभयो, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने

नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उहाँले जानकारी दिनुभयो ।

तुदी पावरका दुई आयोजना

अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ । रु १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताउनुभयो ।

TOP