

काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सो पार्टीको सोमवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको बताउनुभयो ।
समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ हुने भनेर त्यसका लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमको आयोजना गरेर माहोल निर्माण गर्ने निर्णय भएको कार्यकारिणी सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको बैठकले सदस्यता र सङ्गठन विस्तार, सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षण लगाएतका विषयमा विशेष जोड दिने निर्णय गरेको छ ।
प्रतिक्रिया