logo
२ चैत्र २०८१, शनिबार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार हुँदै

अर्थमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार हुँदै

पोखरा । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते हुनुभएको थियो ।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेकपा एमाले, कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको उहाँले बताउनु भएको छ ।

महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुभयो । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।

घाइते हुनुभएका दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा  लगिएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो । रासस

TOP