

ललितपुर । विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) द्वारा विहिवार ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रम अन्तर्गत भएको पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता विषयक समूहगत छलफलमा धारणा राख्ने वक्ताले सञ्चारमाध्यम जनताका लागि जनताका अबर सम्प्रेषण गर्ने हुनुपर्नेमा जोड दिएका हुन् ।
सङ्घीय संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायुको उच्च जोखिममा परेको हिमाली क्षेत्रमा नेपाल अवस्थित रहेकाले प्रकृतिमा आधारित रहेर काम गर्ने ६२ प्रतिशत किसानलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान सूचना प्रवाहमा प्रभावकारी काम गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्थ मन्त्रालय अन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओमप्रकाश भट्टराईले जलवायु परिवर्तन र अर्थतन्त्रमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषय विश्वमा प्रमुख बहसको विषय बनेको बताउनुभयो । उहाँले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य अनुसार दुई सय ७६ विलियन अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सूचना प्रणालीमा भएको सुधार र प्रविधिको विकासले मौसम पूर्वानुमानमा सहज भएको उल्लेख गर्नुभयो । जल तथा मौसम पूर्वानुमान विभागले गरेको मौसम पूर्वानुमानको आधारमा विद्युत् प्राधिकरणले आफ्नो योजना बनाएर विद्युत् आयात र निर्यात गर्ने अवस्थामा पुगेको महानिर्देशक जोशीले बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका नायब महाप्रबन्धक आरती चटौतले किसानलाई खेतीपातीसँग जोडेर सञ्चारमाध्यमले जल तथा मौसम पूर्वानुमानका सूचना प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । अन्तरराष्ट्रियस्तर वा सरकारीस्तरबाट प्राप्त सूचनाको आधारमा रेडियो तथा अन्य सञ्चारमाध्यमले आधिकारिक र सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
प्रतिक्रिया