logo
२ चैत्र २०८१, शनिबार

‘परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्न ध्यान दिऔँ’

‘परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्न ध्यान दिऔँ’

हेटौंडा । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले आज विहिवार हेटौंडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकरात्मक ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो । आर्थिक समृद्धिलाई नागरिकले महशुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेका अधिकार सहज उपभोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिँदै नागरिकका आवश्यकता र चाहना पुरा भएमात्र राजनीति सही बाटोमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

पार्टी भित्रका विवाद समाधान गर्न माथिल्ला संरचनासँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उहाँले निर्देशन गर्दै पार्टी सङ्गठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकाले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको बताउनुभयो ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो । रासस

TOP