logo
२ चैत्र २०८१, शनिबार

‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’

‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’

काठमाडौँ । संसदमा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी महिला, कानुन र विकास मञ्चले बुधवार आयोजना गरेको छलफलमा सांसदहरुले राम्रो व्यवस्था हुँदाहुँदै विधेयकमा केही विषय छुटेको बताउनुभयो । छुटेका विषयलाई विधेकयमाथि संशोधन प्रस्ताव राखेर व्यवस्थित गर्न सकिने उहाँहरुले बताउनुभयो ।

नेपाली कांग्रेसका सचेतकसमेत रहनुभएकी सांसद सुशीला थिङले नेपालमा सम्बन्ध स्थापित गरेर विदेशमा गएर बच्चा जन्माउने महिलाबाट जन्मिएका बालबालिकाले नागरिकता पाउने सम्बन्धमा विधेयक मौन रहेकाले यसमा संशोधन प्रस्ताव राखिनुपर्ने बताउनुभयो ।

सांसद कान्तिका सेजुवालले आमाको नामबाट नागरिकता नदिँदा समाजमा आँखाबाट आँसु आउने घटना हुने गरेको सुनाउनुभयो । पूर्वमन्त्री एवं कांग्रेस नेता स्वर्गीय नवीवन्द्रराज जोशी र सांसद सपना राजभण्डारीकी छोरीले नागरिकता बनाउन जाँदा बाबुको नागरिकता ल्याउन भनेको, धार्मिक संस्कार अनुसार मृत्यु संस्कार गर्दा नागरिकता एवं चिना जलाइएकाले ल्याउन नसकी सांसदकै छोरीले समस्या भोग्नुपरेको घटना उहाँले सुनाउनुभयो ।

सांसद रोशन कार्कीले बाबुको नाम नखुलेको भनी नागरिकता लिन जाँदा महिलाको चरित्रमाथि प्रश्न उठ्ने भएकाले संशोधन प्रस्ताव राखिनुपर्ने बताउनुभयो ।

छलफलमा अधिवक्ता सुषमा गौतमले वंशजको नागरिकता अधिकारको विषय र अङ्गीकृत नागरिकता राज्यको स्वविवेकको विषय भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियताका बारेमा डराउन नहुने सुझाव दिनुभयो । रासस

TOP