

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै साेमबार उहाँले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो ।
समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राख्नुभयो ।
वार्षिकोत्सवमा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस इञ्चार्ज मातृकाप्रसाद यादवले अब आफ्नो दल गुटपरस्त गतिविधिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ‘आधारशीला’ का परिकल्पनाकार तथा संस्थापक माओवादी केन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले आधारशीला स्थापनाको औचित्यबारे प्रकाश पार्नुभयो ।
विसं २०५९ साल माघ २५ गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेलसहितका नेताले सहिद परिवार र पार्टीका पूर्र्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गर्नुभएको ‘आधारशीला’ मा अहिले १६ परिवार सामूहिक रूपमा बस्दै आएका छन् ।
प्रतिक्रिया