logo
२ चैत्र २०८१, शनिबार

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने  बताउनुभयाे ।

शनिबार बिहान सदरमुकाम तम्घासमा कार्यालय विभिन्न सार्वजनिक निकायका प्रमुखसँग छलफल गर्दै उहाँले विकास निर्माणका काममा ढिलासुस्ती नगरी दिगो विकास गर्नेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसदसमेत रहनुभएका नेता भण्डारीले जिल्लामा भइरहेका पूर्वाधार निर्माणका बारेमा जानकारी लिनुभएको थियो ।

सो क्रममा उहाँले सरोकार भएका सबैलाई निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक समन्वय गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभावी रूपमा नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले सोको विकल्प खोजेर मात्र काम थाल्नुपर्ने विचार राख्नुभयो ।

नेपाली कांग्रेस रेसुङ्ग नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको आज तम्घासमा आयोजित कार्यक्रममा सांसद भण्डारीले समयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राख्नुभयो ।

नेता बनेर जनताका समस्या नबुझ्ने प्रवृत्ति बढ्दै जाँदा पछिल्लो समय आमनागरिकमा नेताप्रति नकारात्मक धारणा बढ्दै गएकाले सबै नेता, कार्यकर्ताले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस

TOP