

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको मंगलवार उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो। बिपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया