logo
३० माघ २०८१, बुधबार

पार्टी सङ्गठन निर्माणमा क्रियाशील बनौँ : सभापति देउवा

पार्टी सङ्गठन निर्माणमा क्रियाशील बनौँ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आइतवार पोखरामा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गर्नुभएको हो ।

सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्ने बताउनु भयो । उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिदैँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहनेगरी विधानमा व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पु¥याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै धार्मिक स्वतन्त्रताको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले महानगर समितिलाई बलियो बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नैनसिंह महर, गोविन्द भट्टराई, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनका लागि केन्द्रदेखि तल्लो निकायसम्मका नेता तथा कार्यकर्ता आ-आफ्ना स्थानबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाको पूर्वकार्यसमितिका साथै साबिक पोखरा र लेखनाथ नगरसमितिका सभापतिहरूलाई सम्मान गरिएको थियो । रासस

TOP