

विराटनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।
आपूर्ति तथा उपभोक्ता विभागद्वारा शुक्रवार विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका खड्काले दुई÷दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न, मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस र एमालेबीच विसं २०५१ पछि देश जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराउनुभयो ।
उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका ऐनहरू संसद्का सम्बन्धित समितिमा गएका जानकारी दिनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐनमा कालो बजारी नियन्त्रणसम्बन्धी व्यवस्था रहेको भन्दै केही थप्नुपरेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतालाई गुणस्तरीय वस्तु तोकिएको मूल्यमा सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकलाई सहज आपूर्तिका लागि व्यापारिक ‘सिण्डिकेट’को अन्त्य हुनुपर्ने सुझाव दिनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, भीम पराजुली र राजीव ढुङ्गाना, विभागका संयोजक गुरु बराल, केन्दीय सदस्य फुलकुमार लालवानी, भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला, प्रदेश सांसद गयानन्द मण्डल, प्रदेश योजना आयोगका सदस्य डा प्रमिला गच्छदार लगायतले आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकारका वारेमा धारणा राख्दै उत्पादन तथा आपुर्ती ब्यवस्थालाइ प्रभाबकारी बनाउन सुझाब दिनुभयो ।
नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संरक्षणमा आबद्ध विभिन्न सङ्घसंस्था, विभिन्न व्यापारिक सङ्घसङ्गठनका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो । रासस
प्रतिक्रिया