

काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत आजसम्म देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो ।
‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सीमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।
दिवसका अवसरमा सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ लेखिएको दुई सय १३ होर्डिङ बोर्ड पनि राखिएको उहाँले बताउनुभयो ।
यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाइहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषधसम्बन्धी दुई सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ, जसमा १२ हजार तीन सय ६८ जना सहभागी भएका छन् ।
लागुऔषध दुव्र्यसनीसम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
यसैगरी, सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका इकाइहरुले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्ने कार्य थालिएको बताइएको छ ।
समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत एक सय २९ जनचेतनामूलक कार्यक्रम गर्नाका साथै निर्माणअन्तर्गत १३ स्थानमा चौतारा, १३ प्रतीक्षालय, सात सार्वजनिक शौचालय र १८ खानोपानीको धारा निर्माण गरिएको छ ।
यसैगरी, स्वास्थ्यअन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियानअन्तर्गत एक सय ९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षरोपण तथा महिला सशक्तीकरण अभियानअन्तर्गत ११ वटा आत्मरक्षा तालिम दिइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । रासस
प्रतिक्रिया