logo
३० माघ २०८१, बुधबार

बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल पनि

बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल पनि

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ ।

बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिनुभएको हो ।

कटुवालले पटकपटक गरी २ लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् ।

बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक ६ हजार माइलको पैदल यात्रा गर्नुभएको थियो । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

पानस हेल्पिङ ह्यान्डस् च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएको थियो ।

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुनुहुन्छ ।

नेपालको विराटनगरमा जन्मिनुभएका कटुवाल सन् १९९८ मा बेलायत आउनुभएको थियो ।

TOP