

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले महेन्द्रनगरले आइतबार कञ्चनपुर आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताउनुभयो ।
गृहमन्त्री लेखकले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो । सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको उहाँलेजानकारी दिनुभयो ।
गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।”
गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया