logo
२४ माघ २०८१, बिहीबार

मधेस आन्दोलनका सहिदको योगदान र अग्रगमनको चर्चा

मधेस आन्दोलनका सहिदको योगदान र अग्रगमनको चर्चा

काठमाडौँ । तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालले १८ वर्षअघि भएको मधेस-आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै बलिदानी दिवस मनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिवार आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम गुप्ता तथा महासचिवद्वय डा सुरेन्द्र झा र मनिष मिश्रलगायतका नेताहरुले मधेस आन्दोलनका सहिदको तस्बिरमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

विसं २०६४ माघ ५ गते लहानमा भएको घटनामा रमेश महतोको निधनपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भयो । त्यसक्रममा सरकार र तत्कालीन मधेसी जनअधिकार फोरमबीचको सहमतिपछि मुलुक सङ्घीयतातर्फ अघि बढेको उक्त पार्टीको दाबी छ ।

कार्यक्रममा उपाध्यक्ष गुप्ताले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधताले परिपूर्ण नेपाललाई सबै जातजातिको साझा फूलबारीका रुपमा अघि बढाउन राज्यले सबैलाई समान अधिकार र अवसर प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मधेसका आवाजलाई राज्यले अझै पूर्णरुपमा सम्बोधन नगरेको उहाँले आरोप लगाउँनुभयो ।

महासचिव डा झाले अहिले मुलुकमा संविधान संशोधन बहस चलिरहेको सन्दर्भमा संविधान संशोधन पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचना र अग्रगमनका लागि हुनुपर्ने आफ्नो दलको मान्यता रहेको बताउनुभयो ।

अर्का महासचिव मिश्रले राजस्व र विप्रेषणको मुख्य स्रोत रहेको तराई मधेसबाट संसद्मा जनसङ्ख्या र सामथ्र्यका आधारमा प्रतिनिधित्व कायम गर्दै नेपाललाई समावेशी राष्ट्र तुल्याउन संविधान सशोधन आवश्यक रहेको बताउनुभयो ।

आयोजक संस्था लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्रले मुलुकमा वर्तमान संविधान जारी भई सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयनले राज्यका निकायमा विभिन्न जातजाति र समुदायका प्रवेशले उत्साहित तुल्याएको धारणा राख्नुभयो । रासस

ताजा अपडेट
TOP