logo
२४ माघ २०८१, बिहीबार

नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन

नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने र सुझाव लिनका लागि निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बिहीबार बसेको बैठकले मन्त्रीहरुलाई बाँकी पाँच दिन सम्पूर्ण रुपले आ-आफ्नो मन्त्रालयको काममा केन्द्रित हुनसमेत निर्देश गरेको हो ।

पार्टीका प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्न र उपयुक्त सुझाव कार्यान्वयन गर्न पनि बैठकले निर्देश गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका शेरबहादुर देउवाको अध्यक्षतामा बूढानीलकण्ठस्थित उहाँको निवासमा बसेको बैठकले सांसदहरुको सल्लाह, सुझाव र जनताका अपेक्षालाई ध्यानमा राखी कामकारबाही अगाडि बढाउन संसदीय दल कार्यसमिति र मन्त्रीहरुले सदस्यहरुसँग समन्वय गर्ने निर्णय गरेको छ ।

सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले कार्य गर्न महत्वपूर्ण विषयमा नियमित छलफल गर्न मन्त्रीहरुलाई बैठकले निर्देश गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो ।

साथै कांग्रेस संसदीय दलको विधानबमोजिम अनुशासन समिति गठनका लागि प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूलाई संयोजक चयन गर्ने निर्णय गरिएको छ ।

बैठकले यही माघ २ गते आफ्नो व्यावसायिक काम सकेर बाहिर निस्कने क्रममा अवाञ्छित व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरेको साङ्घातिक आक्रमणको निन्दा गर्दै दोषी उपर कडा कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । रासस

ताजा अपडेट
TOP