

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयाे ।
मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उहाँको सुझाव थियो ।
मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरुले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको सङ्गठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताउँदै यसबाट परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताउनुभयो ।
विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यकपर्ने सेवा प्रदान गर्न, उनीहरुको हितको रक्षा गर्दै आवश्यकतामा ध्यान दिन तथा उनीहरुका समस्या र गुनासाहरुमा सहजै उपलब्ध भइदिन पनि सबै मिसन प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया