logo
३० माघ २०८१, बुधबार

‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’

‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताउनुभयाे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई साेमबार यहाँ सम्बोधन गर्दै उहाँले छिट्टै जनताले सेवा प्रवाहमा सुधारको महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।मन्त्री भण्डारीले भन्नुभयो, “राजनीतिक र प्रशासनिक नेतृत्वलाई जवाफदेही र जिम्मेवार बनाउन अध्यादेश अघि बढाइएको हो ।”

सेवा प्रवाहका क्रममा आउन सक्ने जटिलतालाई अन्त्य गरेर नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन वर्तमान सरकार क्रियाशील रहेको उहाँको भनाइ थियो ।

आमजनताको खाद्य सम्प्रभूतासम्बन्धी संवैधानिक हकको कार्यान्वयन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले सेवा विविधीकरण, आमजनताको भरपर्दो र पहुँचयोग्य संस्थाका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले आम नागरिकले भरोसा गर्ने व्यावसायिकसंस्थाका रुपमा खाद्य व्यवस्था कम्पनीलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

TOP