logo
७ माघ २०८१, सोमबार

‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी भइरहेकाे छ : मन्त्री गुरुङ

‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी भइरहेकाे छ : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउनुभयाे  ।

उहाँले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताउनुभयो ।

देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP