काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पु-याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रको आधुनिकीकरणको प्रमुख श्रेय कार्टरलाई दिन सकिने बताउनुहुन्छ । संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उहाँले निर्वाचन पर्यवेक्षण गर्नुभएको थियो ।
कार्टर सेन्टरले संविधानसभाका दुवै निर्वाचन र विसं २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई सहयोग गरेको थियो । कार्टर सेन्टरले निर्वाचनका लागि आवश्यक प्रविधि, कानुनी र नीतिगत व्यवस्था तथा निर्वाचन पर्यवेक्षणको मापदण्ड बनाउने गरेको उहाँले बताउनुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्टरलाई लोकतन्त्र र प्रजातन्त्रको पिताभन्दा फरक नपर्ने बताउनुभयो । उहाँले मानवअधिकार, शिक्षा र प्रजातन्त्रको सन्दर्भमा पनि विश्व समुदायमाझ कार्टरको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रमुख आयुक्त उप्रेतीले भन्नुभयो, “लोकतान्त्रिक र प्रजातन्त्रिक प्रक्रियामा पालना गर्नुपर्ने विधि, प्रक्रिया र पद्धतिका लागि पवित्र भएर लाग्न जिमी कार्टरको प्रेरणालाई व्यवहारमा प्रयोग गर्न सकियो भने उहाँप्रति सम्मान गरेको ठहर्छ ।”
जिमी कार्टरले आफ्नो जीवनलाई विश्वव्यापी मानवतावादीका रूपमा परिभाषित गर्नुभएको थियो । शान्ति स्थापना, नागरिक र मानवअधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिने कार्यमा विश्व समुदायबाट कार्टरको भूमिकाबारे प्रशंसा हुँदै आएको छ । अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आज सोमवार जर्जियामा निधन भएको हो । रासस
प्रतिक्रिया