logo
७ माघ २०८१, सोमबार

पूर्व राजा वीरेन्द्रको देश र जनताप्रतिको योगदानको स्मरण

पूर्व राजा वीरेन्द्रको देश र जनताप्रतिको योगदानको स्मरण

काठमाडौँ । राजा वीरेन्द्र शाहको जन्मजयन्तीका अवसरमा उहाँले मुलुकको विकास र समृद्धिमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उहाँको ८०औँ जन्मजयन्तीका अवसरमा आइतवार आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चाहनाअनुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गर्नुभयो ।

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन पूर्वराजा वीरेन्द्रले महत्वूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।  नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा वीरेन्द्र अविस्मरणीय रहेको विचार व्यक्त गर्नुभयो ।

तत्कालिन राजदरवारमा पदाधिकारी समेत रहेका  समाजसेवी पशुपतिभक्त महर्जनले सरल तथा शालिन स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुभयो ।

विसं २००२ पुस १४ गते जन्मिनुभएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो । राजसस्थाको अन्त्य भएपनि  वीरेन्द्रलाइ प्रजातन्त्रवादी राजाका रुपमा स्मरण गरिन्छ ।

वीरेन्द्र शान्ति प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले  ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गर्नुका साथै राजा वीरेन्द्रको योगदानको चर्चा गर्नुभएको थियो ।

ताजा अपडेट
TOP