logo
१० माघ २०८१, बिहीबार

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

काठमाडौँ  । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो ।

सञ्चार मन्त्रीका अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो ।

बैठकले शिक्षक सेवा आयोगको एक जना महिलासहित दुई जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

मन्त्री गुरुङले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद  बैठकले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

 

TOP