काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गर्नुभएको छ ।
रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिवार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि उहाँले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताउनुभयो ।
ठूलो सङ्ख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै उहाँले प्राङ्गारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राख्नुभयो ।
रैथाने एग्री प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले नेपाली खाद्यान्नको विविधता जोगाउन तथादैनिक उपभोग्यवस्तुमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्न दरबारमार्गमा शनिबारे हाटबजार सञ्चालन गर्र्दै आएको बताउनुभयो ।
हाटबजारमा आउने खाद्यन्नलगायत उपभोग्यवस्तु विषादीरहित, स्वच्छ वातावरणमा उत्पादन भएकाले मानव शरीरका लागि स्वास्थ्यकर रहेको उहाँको भनाइ छ ।
संस्थाले विसं २०८० साउन १ गतेदेखि प्रत्येक शनिबार बिहान ७ देखि १२ बजेसम्म हाटबजार सञ्चालन गर्दैआएको छ ।
हाटबजारमा मार्सी धानको चामल, मकै, चिनो, कागुनो, भटमास, कोदो, जौ, जुनेलो, लट्टे, फापर, किबी, कुभिण्डो, सिस्नो, फर्सी, चिया, मह, दूग्धजन्य पदार्थ तथा टोपी र गलबन्दीजस्ता ५० भन्दा बढी जिल्लाका रैथाने उत्पादन बिक्रीका लागि ल्याइने गरेका छन् ।
प्रतिक्रिया