logo
७ माघ २०८१, सोमबार

टीकापुर विमानस्थल तारा एयरको नियमित उडान सुरु

टीकापुर विमानस्थल तारा एयरको नियमित उडान सुरु

टीकापुर । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतवार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका ३ सहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

यसअघि विसं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँ लगायतले स्वागत गर्नुभएको थियो । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।

उक्त अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ-टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो ।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ-नेपालगञ्ज-टीकापुर र टीकापुर-नेपालगञ्ज-काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP