logo
१० माघ २०८१, बिहीबार

मार्गशीर्ष शुक्ल पूर्णिमाः विभिन्न पर्वको रुपमा मनाइदैँ  

मार्गशीर्ष शुक्ल पूर्णिमाः विभिन्न पर्वको रुपमा मनाइदैँ  

काठमाडौँ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज आइतवार योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

आजैका दिन धान्य पूर्णिमा पर्वको रुपमा धानको धन्सार वा भकारीमा विधिपूर्वक पूजाआजा गरी पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

त्यस्तै, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पर्व मनाउछन् ।

ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ । रासस

TOP